Sudurpashchim

५ दिने बडिमालिका सेवा शिविर सम्पन्न

सुन्दर सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला त्रिवेणी नगरपालिका स्थित आस्थाको धरोहर, भु-स्वर्ग, प्रसिद्ध तिर्थस्थल बडिमालिका मन्दिर शक्तिपिठहरु मध्ये एक प्रमुख शक्ति पिठकाे रुपमा लिइन्छ । बडिमालिकामा श्रावण शुक्ल चतुर्दशीका दिन पूजा लाग्ने गर्दछ । साे अवसरमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश तदर्थ समिति संयोजक श्री नरेन्द्र थापाको नेतृत्वमा बडिमालिका सेवा शिविर सम्पन्न भएको छ । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदुरपश्चिम प्रदेशको समन्वयमा स्थानीय स्काउट तदर्थ समिति त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका र बडिमालिका नगरपालिका, बाजुरा जिल्लाका ११८ जना स्काउटरहरुले बडिमालिका नाटेश्वरी सेवा शिविर सञ्चालन गरी भिड तथा लाईन व्यवस्थापन, ढुङ्गे पुल निर्माण, अशक्त यात्रुहरुलाई गन्तव्य सम्म बोकेर पुर्याउने, मन्दिर परिषद् सरसफाइ आदि कार्यहरु गरेका छन् ।
यो बडिमालिका सेवा शिविर ५ दिनकाे रहेको थियो । बडिमालिका धार्मिक स्थलमा बुढीगंगा नगरपालिका, बाजुराका मेयर तथा स्थानीय स्काउट संरक्षक श्री राम बहादुर बानियाँ, प्रमुख स्काउट माया कुमारी कुवँर र त्रिवेणी नगरपालिका, बाजुराका मेयर तथा स्थानिय स्काउट संरक्षक श्री कर्ण बहादुर थापा, प्रमुख स्काउट तथा स्काउट मास्टर श्री कमला कुमारी न्यौपाने ज्यूको उपस्थितिमा नाटेश्वरी क्याम्पफायर पनि सम्पन्न भएको छ । यस्तो पवित्र कार्यमा निस्वार्थ रुपमा सहयोग गर्ने, हातेमालो गर्ने, प्रदेशको दुरदराजमा पनि स्काउटले सेवा दिन सक्छ भनेर प्रमाणित गरेर देखाउने सम्पूर्ण स्थानीय स्काउट तदर्थ समिति संयोजकहरु तथा स्काउटरहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छौं ।
जय बडिमालिका !
जय स्काउट !